सर्लाही – मधेश प्रदेशका तीनवटा कारागारमा ठूलो विद्रोह भई ९८३ कैदीबन्दी फरार भएका छन्। सप्तरी, महोत्तरी र रौतहटका कारागारमा आन्दोलन, आगजनी र तोडफोडपछि उनीहरू जेलको पर्खाल फोड्दै बाहिरिएका हुन्।
सप्तरीको राजविराज कारागारबाट २०५ कैदी फरार भएका मध्ये ३१ जनालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन सफल भएको छ। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार दिउँसो १ बजे थुनुवाहरूले भित्रै आगजनी गरेका थिए। प्रहरी आगो निभाउन व्यस्त रहँदा कैदीहरू पर्खाल नाघेर भागेका थिए। बाँकी कैदी भारततर्फ भागेको हुन सक्ने आशंका प्रशासनले गरेको छ।

महोत्तरीको जलेश्वर कारागारमा मंगलबार साँझकै समयमा नाटकीय घटना भएको छ। त्यहाँ रहेका ५७६ जना सबै कैदी एकैपटक आन्दोलन गर्दै भागेका थिए। मधेश आन्दोलनकै क्रममा प्रहरी अधिकृत थमन विक हत्या प्रकरणमा थुनिएका ६ अभियुक्तलाई रिहाइ गर्न आन्दोलनकारी पुगेपछि कैदीहरूले समेत विद्रोह गरेको बताइएको छ। यस्तै, रौतहटको गौर कारागारमा २९१ मध्ये २३३ कैदीबन्दी भागेका छन्। तोडफोडपछि २४ कैदी मात्र जेलमै बाँकी रहेका छन्।
सर्लाहीको मलंगवा कारागारमा भने कैदीहरूले बिहानै आगजनी गर्दै भाग्ने प्रयास गरे पनि प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयुक्त प्रयासमा नियन्त्रणमा लिन सकिएको छ। त्यहाँ विवादास्पद धर्मगुरु रामबहादुर बम्जन राखिएका छन्। उनका समर्थकले उनलाई छुटाउन आक्रमण गर्न खोजे पनि सुरक्षाकर्मीले बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएका थिए। यस क्रममा हवाई फायर र अश्रुग्यास प्रयोग गरिएको थियो।
वीरगञ्ज कारागारमा पनि कैदीहरू भाग्ने प्रयासमा जुटेपछि रातिदेखि नै तनावपूर्ण अवस्था सिर्जना भएको थियो। नेपाली सेनाले गोली चलाएर भाग्न खोज्नेहरूलाई रोकेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए। अहिले कारागार वरिपरि सेना परिचालन गरिएको छ।
सिरहा कारागार भने अहिलेसम्म शान्त रहेको प्रशासनले जनाएको छ। तर, मधेशका अधिकांश कारागार सदरमुकाम र सीमावर्ती क्षेत्रमा भएकाले ठूलो संख्यामा कैदीहरू खुला सीमा हुँदै भारततर्फ भागेको हुन सक्ने अनुमान गरिएको छ। लगातार भइरहेको ‘जेलब्रेक’ का घटनाले स्थानीयवासीमा भयत्रास छाएको छ। प्रशासनले फरार कैदीबन्दीको खोजी तीव्र पारेको जनाएको छ।





