मलंगवा – सर्लाही जिल्लामा लगाइएको कर्फ्यूलाई चरणबद्ध रूपमा सहज बनाउँदै लैजाने निर्णय गरिएको छ। बिहीबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।
बैठकले सदरमुकाम मलंगवामा भने कर्फ्यूलाई शुक्रबार राति ८ बजेसम्म निरन्तरता दिने निर्णय गरेको छ। यहाँ पूर्वमा झिम खोला, पश्चिममा बागमती नहर, उत्तरमा सशस्त्र प्रहरी गण र दक्षिणमा नेपाल–भारत सीमासम्मको क्षेत्रमा कर्फ्यू जारी रहनेछ।

जिल्लाका अन्य स्थानमा भने शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नआएसम्म कर्फ्यू हटाई निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए। उनले अत्यावश्यक कामका लागि बिहान ५ देखि ९ बजेसम्म र बेलुकी ५ देखि ७ः३० बजेसम्म आवतजावत गर्न छुट दिने व्यवस्था मिलाइएको बताए।
‘जेन–जी’ पुस्ताको आन्दोलन रोकिएसँगै जिल्लाको अवस्था सामान्यतर्फ फर्किएको भए पनि बजार र यातायात पूर्ण रूपमा सञ्चालनमा नआउँदा स्थानीयवासी समस्या खेपिरहेका छन्। निजी मोटरसाइकल र टेम्पु चले पनि भाडाका सवारीसाधन अझै सञ्चालनमा आएका छैनन्।
बजारमा थोरै पसल खुलेका छन् भने बैंक तथा वित्तीय संस्था बन्द रहँदा सेवाग्राही प्रभावित भएका छन्। आगलागीबाट ठूलो क्षति पुगेका लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, हरिपुरलगायत पालिकाले सेवा तत्काल सञ्चालन गर्न नसक्ने सूचना सार्वजनिक गरेका छन्।
भवन, सवारीसाधन र उपकरण नष्ट भएकाले सेवा सूचारु गर्ने विषयमा अन्यौल रहेको जनप्रतिनिधिहरूले बताएका छन्। यद्यपि तोडफोड नभएका कार्यालयहरू समेत कर्फ्यूको कारणले सञ्चालनबारे अनिश्चिततामा छन्। यसबीच, नेपाली सेना सडक र बजार क्षेत्रमा खटिइ सुरक्षा व्यवस्था कडा बनाइएको छ।






