सर्लाही – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीच विहिबार साँझ विशेष भेटवार्ता भएको छ।
राष्ट्रपति बसोबास गर्दै आएको सुरक्षित स्थानमा पुगेका सेनाप्रमुख सिग्देलले हालसम्म जेनजी समूहसँग भएका वार्तालाप र परिस्थितिबारे राष्ट्रपतिलाई विस्तृत जानकारी दिएका सुरक्षा निकायले जनाएको छ।

हालै जेनजी आन्दोलनको क्रममा शीतल निवासमा आगजनी भएपछि राष्ट्रपति पौडेललाई सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। त्यसै सन्दर्भमा सेनाप्रमुखले प्रत्यक्ष भेटमार्फत वर्तमान अवस्थाको समीक्षा र सुरक्षा व्यवस्थासम्बन्धी सुझाव दिएको बुझिन्छ।
यसअघि राष्ट्रपति पौडेलले अज्ञात स्थलबाट सार्वजनिक गरेको विज्ञप्तिमा लोकतन्त्रको रक्षा आफ्ना प्रयासको केन्द्रमा रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता र धैर्य अपनाउन आग्रह गरेका थिए। साथै उनले शान्ति, स्थिरता र कानूनको शासन कायम गर्न सहयोगको अपिल पनि गरेका थिए।





