जितिया पर्वको तयारीमा मिथिलानी

२०८२ भाद्र २७, शुक्रबार ११:३४

सर्लाही – निषेधाज्ञा र कर्फ्यूको वातावरणबीच पनि मिथिला क्षेत्रका सन्तानवती महिलाले सन्तानको दीर्घायु र कल्याणको कामनासहित जितिया पर्वको तयारी सुरु गरेका छन्। पितृपक्ष (असोज कृष्णपक्ष) सुरु हुनासाथ मिथिलानीबीच यो पर्वको चर्चा र तयारी तीव्र हुने गरेको छ। यसपालि अष्टमी तिथि पर्सी आइतबार परेको छ।

अष्टमी सुरु हुनु एकघडी अघि सुरु हुने उपवास नवमीको एकघडी कटेपछि मात्र समाप्त गर्ने परम्परा छ। यसपालि शनिबार मध्यरात अघिको ‘ओगटन’ (दर) खाएर उपवास सुरु गरिनेछ। दही–चिउरा खाने परम्परा रहेको ‘ओगटन’पछि अष्टमी आरम्भ भई सोमबार बिहान ७ बजेतिर व्रत समापन हुने पञ्चाङ्गविद्हरू बताउँछन्। यसपालि व्रत करिब ३१ घण्टाभन्दा बढी लामो हुनेछ।

मिथिला समाजमा ‘जितिया पावनी बड भारी’ भन्ने भनाइ चलेको छ। कठोर उपवासका कारण यो पर्वलाई कठिन व्रतमध्ये एक मानिन्छ। उपवास अवधिभर थुक निल्न नपाइने, किरा फट्याङ्ग्रा मार्न नहुने, अनावश्यक हिंसा नगर्नु पर्ने धार्मिक मान्यता छ।

सन्तानको कल्याणका लागि गरिने यो व्रत सुरुमा छोरी–छोराका नाममा हुँदै आएको भए पनि पछिल्लो समय पितृसत्तात्मक समाजले यसलाई पुत्र केन्द्रित बनाएको थियो। तर अहिले पुनः छोराछोरी दुवैका नाममा गर्ने चलन बढेको महिला अधिकारकर्मीहरू बताउँछन्।

पितृपक्षसँग गाँसिएको यो पर्वमा महिलाले दिवङ्गत सासु, आमा, बज्यैलगायत नातेदारलाई ‘षोडष मातृका श्राद्ध’ स्वरूप तर्पण दिने परम्परा छ। सप्तमीका दिन स्नान गरेर सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रत सङ्कल्प गर्ने चलन छ।

जितियाको उत्पत्ति द्वापरयुगसँग जोडिएको छ। भविष्य पुराणमा वर्णित कथाअनुसार विधवा ब्राह्मणीका मृत पाँच छोरालाई राजा जितवाहनले आफ्ना तपशक्तिबाट जीवित तुल्याएपछि सन्तानको दीर्घायुका निम्ति यो व्रत सुरु भएको मानिन्छ। मिथिला क्षेत्रमा महिलाले तीजपछि विशेषरूपमा मनाउने जितियालाई मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिने गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार