सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरे पनि उनले अझै औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छैनन्।
भदौ २४ गते जेनजी आन्दोलन चर्किएको दिन, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनमा सिंहले आफ्नो फेसबुकमार्फत पदत्याग गर्ने निर्णय सार्वजनिक गरेका थिए। उनले पोस्टमा लेखेका थिए, “नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अडानसहित, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।”

तर शुक्रबार अबेर रातिसम्म पनि सिंहको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छैन। संविधानको धारा १६९ अनुसार मुख्यमन्त्रीले लिखित रुपमा प्रदेश प्रमुखलाई राजीनामा बुझाउनुपर्ने व्यवस्था छ। तर प्रदेश प्रमुख कार्यालयका सचिव सत्रुधन यादवका अनुसार अहिलेसम्म त्यस्तो पत्र प्राप्त भएको छैन।
“हामीले फेसबुकमै राजीनामाको घोषणा देखेका हौं। तर प्रदेश प्रमुखको कार्यालयमा लिखित पत्र कुनै पनि माध्यमबाट आएको छैन,” सचिव यादवले स्पष्ट पारे। त्यसैले, कानुनी दृष्टिले सिंह अझै पनि मुख्यमन्त्रीकै हैसियतमा रहेका छन्।
सिंह २५ जेठ २०८१ मा सात दलको समर्थनमा (एमाले, माओवादी लगायत) मुख्यमन्त्री बनेका थिए। तर पछि सत्ता समीकरण फेरिँदै जाँदा माओवादी बाहिरिएको र कांग्रेस सहभागी भएको थियो। डा. सिके राउतले आफ्नै दलभित्र संसदीय दलका नेता महेशप्रसाद यादवलाई पन्छाएर सिंहलाई मुख्यमन्त्री बनाएका थिए।
१५ महिनाको कार्यकालमा सिंहको सरकार निरन्तर विवादमा रह्यो। बजेटमा असमानता, दलालहरूको प्रभाव, योजनामा खुलेआम कमिसनका खेलजाल लगायतका आरोपले उनको नेतृत्व आलोचित रह्यो।





