जितियाको निराहार व्रत आज

२०८२ भाद्र २९, आईतवार ०८:३८

सर्लाही – सन्तानको दीर्घायु र कल्याणको कामना गर्दै मिथिला क्षेत्रमा आज महिलाहरूले जितिया पर्वको निराहार व्रत आरम्भ गरेका छन्। शनिबार साँझ सप्तमी तिथिमा पवित्र स्नान गरी ‘ओगटन’ अर्थात् दर खाएपछि आमा बुबा भएका महिलाहरू (मिथिलानी)ले निराहार उपवास सुरु गरेका हुन्।

अष्टमी तिथि आइतबार बिहान ८:४४ बजेदेखि लागे पनि व्रत भने शनिबार मध्यरातपश्चात् सुरु भएको हो। मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका अनुसार यो निराहार व्रत सोमबार बिहान ७ बजेपछि मात्र समापन गर्न मिल्ने परम्परा छ। एक अहोरात्र उपवास बसेर नवमी तिथि लागेपछि व्रत तोड्नुपर्ने धार्मिक विधान रहेको स्थानीय पण्डित दिनेशकुमार झाले जानकारी दिए।

पितृपक्षमा पर्ने यो पर्व सप्तमीका दिन स्नान ध्यान गरी पितृ स्मरण गर्ने, सूर्यलाई अर्घ दिन्ने र चोखोनीतो खाने परम्परासँग सुरु हुन्छ। त्यसपछि मातृपक्षका दिवंगत महिलाहरू सासू, बूढीसासू, जेठानी, देवरानी र मातृकूललाई सम्झँदै सन्तानको कल्याणको प्रार्थना गरिन्छ।

पुरुषहरूले पितृलाई तर्पण दिने परम्परासँगै महिलाहरूले आफ्नो मातृपक्षलाई तर्पण दिने पर्वका रूपमा पनि जितियालाई बुझिन्छ। आज अष्टमीका दिन व्रत बस्ने आमाहरूले राजा जिमुतवाहनको कथा सुन्ने परम्परा छ। द्वापर युगमा नर्मदा नदी किनारका राजकुमार जिमुतवाहनले एक विधवा ब्राह्मणीका सात छोराको प्राण रक्षा गरेको कथालाई यस पर्वको मूल आधार मानिन्छ।

भविष्य पुराणमा समेत उल्लेख भएको यो कथाका आधारमा जितियाको सुरुवात भएको विश्वास छ। श्रद्धा र विश्वाससहित बसिने यो व्रतले सन्तान दीर्घायु, साहस र सुख प्राप्त गर्ने जनविश्वास मिथिला क्षेत्रमा प्रचलित छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार