मलंगवा – जिल्लाभित्र आजदेखि सरकारी कार्यालयहरूको नियमित सेवा सुरु गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलद्वारा जारी सूचनामा सबै कर्मचारीलाई आ–आफ्नो कार्यस्थलमा उपस्थित भई सेवा प्रवाह गर्न आग्रह गरिएको छ।
पछिल्ला राजनीतिक हलचल र त्यसले सिर्जना गरेको असामान्य अवस्थाका कारण गत बुधबारदेखि सर्लाहीसहित देशभरका सरकारी सेवा प्रभावित भएका थिए। तर प्रशासनको निर्देशन आएपनि जिल्लाका केही स्थानीय तहमा तत्काल सेवा सञ्चालन कठिन देखिएको छ।

हालैको अशान्त घटनामा लालबन्दी, हरिवन, बागमती, हरिपुर, बरहथवा, ईश्वरपुर, चन्द्रनगरलगायतका नगरपालिकामा कार्यालय भवनदेखि फर्निचर, कम्प्युटर र अन्य सामग्रीसमेत आगजनीमा परेर नष्ट भएका छन्। जनप्रतिनिधि र कर्मचारीका अनुसार त्यस्ता पालिकामा तत्काल सेवा सुरु गर्ने अवस्था छैन।
लालबन्दी र हरिवनका आधा दर्जनभन्दा बढी वडा कार्यालयमा पनि क्षति पुगेको छ। यद्यपि विद्यालयतर्फ भने सुधार देखिँदै छ। आजदेखि जिल्लाका अधिकांश सामुदायिक र निजी विद्यालय फेरि सञ्चालनमा आएका छन्।





