प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै डा. सिंहले भने ‘खरानीमाथिबाट नयाँ नेपालको निर्माण गरौं’

२०८२ भाद्र २९, आईतवार १३:५६
file image

सर्लाही – देश राजनीतिक र सामाजिक हलचलको बीचमा छिँदै गर्दा डा. अमरेश सिंहले सामाजिक सञ्जालमार्फत भावनात्मक आव्हान गरेका छन्।

उनले जेन – जि पुस्ताले सुरु गरेको आन्दोलनलाई विनाशको अन्त्य मात्र नभई आशा र पुनर्निर्माणको सुरुवातको संकेतका रूपमा प्रस्तुत गरेका छन्। सिंहका भनाइमा सडकमा बगेको युवाको रगत र चढेको बलिदान निष्फल हुनु हुँदैन। “यो केवल सरकार फेरबदलको माग होइन, यो न्याय, समानता र उज्यालो भविष्यको खोज हो,” उनको अभिव्यक्ति छ।

उनले प्रहरी चौकीदेखि अदालतसम्म जलाइएका घटना, कैदी पलायन र भत्किएका संरचनालाई स्मरण गर्दै पहिले नै देश दुर्घटनामा फस्ने संकेत देखिएको उल्लेख गरेका छन्। तर, त्यही खरानीमाथिबाट नयाँ नेपालको बीउ पलाउन सक्ने विश्वास उनले व्यक्त गरेका छन्। “युवाको पसिना, ज्ञान र सिर्जनशीलताले मात्र देशलाई उठाउन सक्छ,” उनले जोड दिएका छन्।

सिंहले यो आन्दोलनलाई सबै नेपालीको साझा संघर्षका रूपमा व्याख्या गर्दै आमाबाबुलाई आफ्ना सन्तानको बलिदान व्यर्थ नजान दिने प्रतिज्ञा गर्न आह्वान गरेका छन्। अन्त्यमा, उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिंदै सफल नेतृत्वका लागि शुभकामना प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार