मलंगवा – जेन-जीको विरोध प्रदर्शनपछि सर्लाहीका आठ स्थानीय तह तत्काल सेवा दिन नसक्ने अवस्थामा पुगेका छन्। आगजनी र तोडफोडका कारण लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपूर्वा, ईश्वरपुर नगरपालिकासहित चन्द्रनगर गाउँपालिकाका कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्।
लालबन्दी नगरपालिकामा प्रशासकीय भवनदेखि कार्यालयका कम्प्युटर, कागजात र फर्निचर सबै जलेर नष्ट भएका छन्। नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका गाडी मात्र नभई जेसिबी, डोजर, ट्रक र ट्याक्टरसम्म आगोमा परेर खरानी बनेका छन्। वडा नं. ५, ६, ७ र ९ को वडा कार्यालयसमेत ध्वस्त भएका कारण तत्काल सेवा दिन नसक्ने प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले जानकारी दिए।

हरिवन नगरपालिकामा त झन् निर्माणाधीन कार्यालय भवनमै आगजनी हुँदा भित्रका सम्पूर्ण सामग्री, कागजात, दमकल, ट्याक्टर जलेर नष्ट भएका छन्। नगरप्रमुख रमेश बुढाथोकी (कमल) का अनुसार वडा नं. ४, ८, १० र ११ का वडा कार्यालय पनि खण्डहर बनेका छन्।
बरहथवा नगरपालिकामा सबैभन्दा ठूलो क्षति पुगेको छ। प्रशासनिक भवन, वडा कार्यालय, ग्रेडर, ब्याक होलोडर, टिप्परसहित १३ मोटरसाइकल, तीन स्कुटर र रोलरसम्म जलेर नष्ट भएका छन्। प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाका अनुसार सेवा कहिले सञ्चालन हुन्छ भन्ने अनिश्चित छ।
हरिपुरमा कार्यालय भवन, गाडी, मोटरसाइकल र कागजात जलेको छ भने, चन्द्रनगर गाउँपालिकामा आवश्यक सम्पूर्ण सामग्री खरानी भएपछि सेवा दिन असम्भव भएको अध्यक्ष राजकुमार महतोले बताए। यी पालिकामा सेवा ठप्प हुँदा नागरिकले व्यक्तिगत घटना दर्ता, सिफारिसलगायत दैनिक काम गर्न सकिरहेका छैनन्। कतिपय कर्मचारी अझै कार्यस्थलमा फर्किन सकेका छैनन्।
यता सदरमुकाम मलंगवा लगायत अन्य सरकारी कार्यालय भने पुनः सञ्चालनमा आएका छन्। यातायात, विद्यालय र हाटबजार सामान्य अवस्थामा फर्किए पनि पालिकागत सेवा भने कहिलेसम्म बन्द रहन्छ भन्ने स्पष्ट भएको छैन। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज राईले क्षतिको विवरण संकलन भइरहेको र घटनामा संलग्नलाई पहिचान गर्न अनुसन्धान भइरहेको जानकारी दिए।





