सर्लाही – धनुषामा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेहरूमा जनकपुरधाम – ११ का ३६ वर्षीय राधे यादव, जनकपुर – १३ का १९ वर्षीय काले पटेल, जनकपुर – १० का १९ वर्षीय गौतम भगत र सोही वडाका १९ वर्षीय चन्दनकुमार साह रहेका छन्।

यस्तै, शहीदनगर नगरपालिका – ३ का २५ वर्षीय शिवमकुमार साह, महोत्तरीको भंगह नगरपालिका–७ का १९ वर्षीय कृष्ण यादव र लोहारपट्टी नगरपालिकाका २५ वर्षीय निर्भय मिश्रलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनीहरूलाई विभिन्न सरकारी सम्पत्ति तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरेको अभियोग लागेको प्रहरीले जनाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिएका छन्।
यस अघि सोही आन्दोलनकै क्रममा प्रहरीको हतियार लुटेको आरोपमा दुई जना युवालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको प्रहरीले स्मरण गराएको छ।
यो पनि पढ्नुहोस:
– जनकपुरधाममा आन्दोलनकै बीच सुरक्षाकर्मीको हतियार लुट्ने दुई जना पक्राउ





