भारतको सिमलामा गाडी दुर्घटना, एकै परिवारका ३ जनासहित ४ नेपालीको मृत्यु

२०८२ भाद्र ३१, मंगलवार ११:२५

सर्लाही – भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा सोमबार बिहान भएको सडक दुर्घटनामा चार नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये तीन जना एउटै परिवारका रहेका छन् ।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, उनका दाइका छोरा ३६ वर्षीय एकेन्द्र शाही, बुहारी २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्।

सडक दुर्घटना कोटखाई नजिकैको कुड्डु नाला क्षेत्रमा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । उनीहरू गाडीको पछाडि बसिरहेका कारण हाम फालेर ज्यान जोगाउन सफल भएको प्रारम्भिक जानकारीमा उल्लेख छ । मृतक लक्ष्मी नवराज शाहीकी पत्नी हुन् ।

यस दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि ज्यान गएको छ । घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टमपछि शव नेपाल पठाउने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार