जनकपुर – एशियाका आद्र्र क्षेत्रमा भेटिएका प्राचीन शवहरूको अनुसन्धानले चकित पार्ने निष्कर्ष दिएको छ । धुवाँ प्रयोग गरेर सुकाइएका यी अवशेषहरू विश्वकै सबैभन्दा पुराना ममी हुन सक्ने देखिएको हो।
सामान्यतया प्राचीन ममीकरण भनेपछि इजिप्टकै परम्परा सम्झिन्छ । करिब ४,५०० वर्ष पुराना पट्टीले बेरेका शवहरू त्यहाँबाट भेटिन्छन् । तर वैज्ञानिकहरूको ताजा अध्ययनले देखायो—धुवाँको प्रयोगद्वारा गरिएको शव संरक्षण इजिप्टभन्दा हजारौँ वर्ष अघिदेखि प्रयोगमा रहँदो रहेछ।

अनुसन्धानले चीन, भियतनाम, लाओस, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स र इन्डोनेसियाजस्ता क्षेत्रका चिहानमा भेटिएका अवशेषमा विशेष प्रकारका दाग निशान देखायो । ती निशान दाहसंस्कारसँग मेल खान्नन् तर शरीरका नरम तन्तु हराइसकेको अवस्था भने धुवाँले सुकाइएका प्रक्रियाको संकेत थियो।
जापानका प्राचीन स्थलमा भेटिएका हड्डीहरूसँग तुलना गर्दा, तिनमा पनि कम तापक्रमको असर पाइएको छ, जसले शव जलाएर नष्ट गर्ने होइन, संरक्षण गर्ने उद्देश्य रहेको पुष्टि गर्यो । कतिपय नमूनाको उमेर १० हजार वर्षभन्दा पुरानो ठहरिएपछि ममीकरण परम्परा पहिले अनुमान गरिएभन्दा धेरै पुरानो भएको प्रमाणित भयो।
“हामीलाई यो एकदमै ठूलो आश्चर्य लाग्यो,” अष्ट्रेलियन नेसनल युनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्ता सियाओ–चुन हङले भने, “यस्तो परम्परा यति पुरानो हड्डीमा भेटिनु मानव संस्कृतिको निरन्तरताको अद्भुत उदाहरण हो।”
अनुसन्धानले धुवाँ केवल शवलाई दीर्घकालसम्म सुरक्षित राख्ने उपाय मात्र नभई, सांस्कृतिक मान्यता पनि रहेको देखाएको छ । इन्डोनेसिया र अस्ट्रेलियाका केही समुदायमा आजसम्म मृतकलाई बाँधेर आगोमाथि महिनौँसम्म राख्ने चलन जीवित छ। यसरी राख्दा मृत आत्मा दिनमा स्वतन्त्र घुम्ने र राति शरीरमा फर्कने विश्वास गरिन्छ।
अनुसन्धानकर्ताहरूले सोमबार प्रकाशित प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज मा लेखेका छन्, “धुवाँले शव सुकाउने प्रचलन विशाल भूभागका सिकार सङ्कलक समाजहरूबीच सहस्राब्दीदेखि परिचित र अभ्यासमा रहँदै आएको देखिन्छ।”





