आज विश्वकर्मा पूजा, मेसिनरी सामाग्रीको पूजा गर्दै मनाइँदै

२०८२ आश्विन १, बुधबार ०९:१७

सर्लाही – आज देशभरका कालीगढ, मजदुर र प्राविधिकहरूले आफ्ना औजार र उद्योग धन्दा सजाएर विश्वकर्मा पूजाको विशेष पर्व मनाइरहेका छन्। कन्या संक्रान्तिका दिन मनाइने यो दिनलाई वास्तु दिवसका नामले पनि चिनिन्छ।

यस दिन विभिन्न कलकारखानामा भगवान् विश्वकर्माको बालुवाको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा गर्ने चलन छ। कारखाना र कार्यस्थलहरू रंगीन रूपमा सजाइन्छन् भने मजदुरहरूलाई समेत सहभागी गराएर उत्सवमय वातावरणमा पर्व मनाइन्छ। पूजा गरिएका मूर्तिलाई भोलिदेखि नदीमा विसर्जन गर्ने प्रचलन रहेको छ।

धार्मिक विश्वास अनुसार आजको दिन प्रयोग हुने उपकरण, औजार र सवारी साधनमा पूजा गर्दा ती लामो समय टिक्ने, बिग्रन नदिने र राम्रो उत्पादन दिने शक्ति प्राप्त हुन्छ। त्यसैले मेसिनदेखि सवारीसाधनसम्म सबैमा पूजा गर्ने परम्परा छ।

विश्वकर्माको बारेमा प्रचलित कथनअनुसार, द्वापरयुगमा भगवान् कृष्णलाई असुरहरूले दुःख दिँदा विश्वकर्माले एकै रातमा समुद्रबीच ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित पारेका थिए। यिनै कारणले विश्वकर्मा श्रेष्ठ वास्तुशास्त्रीका रूपमा पूजनीय बनेका धर्मशास्त्रविद्हरू बताउँछन्।

आजको दिन, कालीगढहरूले विश्वकर्मा बाबालाई विशेष श्रद्धा अर्पण गर्दै आफूमा पनि उनको सीप, विद्या र कौशल प्राप्त होस् भन्ने कामना गर्छन्। त्यसैले यो दिन केवल पूजा मात्र नभई सीप र श्रमप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा समेत मनाइन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार