सर्लाही – भ्रष्टाचारविरुद्धको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा सरकारले आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा कम्तीमा ७२ युवाको निधन भएपछि मन्त्रिपरिषद्ले भदौ ३० गते बसेको बैठकमार्फत असोज १ गतेलाई राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ “जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोगहरू बन्द रहनेछन् र सबै सरकारी भवनमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।”

निर्णयअनुसार आज सरकारी कार्यालय, विद्यालय, दूतावास र नियोगहरू बन्द छन् । सरकारी भवनहरूमा झण्डा आधा झुकाएर दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ।
यसअघि मंगलबार पशुपति आर्यघाटमा धेरै युवाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो । केहीको शव भने उनीहरूको जन्मथलोमा पुर्याई स्थानीय परम्परा अनुसार अन्तिम संस्कार गरिएको परिवारजनले जनाएका छन् ।





