सर्लाही – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारी नेताहरूको दम्भ र अहंकारकै कारण जेन-जी आन्दोलनका क्रममा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको आरोप लगाएका छन्।
बुधबार सार्वजनिक शोक वक्तव्यमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई लक्षित गर्दै, जायज मागलाई सम्बोधन गर्नुपर्ने बेलामा सत्ता पक्ष अहंकारमा डुबेकोले दर्जनौँ युवा जीवन गुमाउनु पर्यो भने मुलुकले अपूरणीय नोक्सानी बेहोर्नुपरेको उल्लेख गरेका छन्।

नेपालका अनुसार लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताका आकांक्षा अनुसार पारदर्शी, जवाफदेही र जनमुखी शासन प्रणाली बनाउन नसकिएको कमजोरी नै आन्दोलनको पृष्ठभूमि बनेको हो। भ्रष्टाचार, कुशासन, बेरोजगारी, वैदेशिक पलायन, नेताहरूको जीवनशैली र जनताको जीवनबीचको दूरीले पनि आक्रोश थप चुलिएको उनले औंल्याए।
उनले भने “इतिहासका गल्तीहरूलाई वस्तुनिष्ठ ढंगले समीक्षा गर्नुपर्छ। शान्ति, स्थिरता र विकाससँगै भ्रष्टाचारको अन्त्य, सुशासन र रोजगारी सिर्जना गरेर युवालाई मुलुकमै बस्न सक्ने वातावरण निर्माण गरिए मात्रै जेन–जी आन्दोलनमा शहादत दिनेप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ।”
नेपालले आन्दोलनपछि बनेको अन्तरिम सरकारले देशलाई अग्रगामी बाटोतर्फ अघि बढाउने जिम्मेवारी पाएको स्मरण गर्दै आगामी निर्वाचनमार्फत नयाँ राजनीतिक दिशाको तय हुने बताए। साथै उनले युवा पुस्तासहित सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक रूपान्तरणतर्फ डोर्याउन आफू सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारे।





