जनमत पार्टीले अटेरी मुख्यमन्त्री सिंहलाई सोध्यो तीन दिने स्पष्टीकरण

२०८२ आश्विन २, बिहीबार १६:१९
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै तीन दिन भित्र लिखित स्पष्टीकरण दिन आग्रह गरेको छ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक ई. नरेन्द्र प्रसाद चौधरीको हस्ताक्षरमा बिहीबार पठाइएको पत्रमा सिंहले पार्टीको निर्णय विपरीत गतिविधि गरेको आरोप लगाइएको छ।

पत्रमा उल्लेख छ “जनमत पार्टी मधेस प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको भनी सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सो निर्णयअनुसार मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिइएको थियो। तर तपाईँले फेसबुकमार्फत राजीनामा दिए पनि त्यसलाई कार्यान्वयन नगरी उल्टै अन्य दलहरूसँग साँठगाँठ गर्दै पार्टीको छविलाई क्षति पुग्ने काम गर्नुभएको छ।”

सिंहले पार्टीको निर्देशन नमान्नुका साथै पदमै अडिन खोजेको, आन्तरिक एकता कमजोर पारेको र पार्टीलाई हानि पुर्‍याउने गतिविधिमा संलग्न भएको ठहर गर्दै अनुशासन समितिले तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।

पत्रमा थप भनिएको छ, “निर्देशन उल्लंघन गर्दै निरन्तर पार्टी विरोधी काम गरेको कारण तपाईँलाई प्रदेशसभा सदस्य र साधारण सदस्य दुवै पदबाट किन निष्कासन गरिनु हुँदैन भन्ने आधारसहित स्पष्टीकरण पेश गर्नु पर्नेछ।”

यस अघि जेनजी आन्दोलन सुरु भएपछि सिंहले पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनअनुसार फेसबुकमार्फत राजीनामा दिएका थिए। तर आन्दोलन थामिएपछि उनले सो निर्णय कार्यान्वयन नगरी पुनः पदमा रहन अडान लिएका थिए।

पार्टी संसदीय दलको आग्रह वेवास्ता गरेपछि अनुशासन समितिले यसबारे लिखित जवाफ सोधेको हो। आजै संसदीय दलले सिंहलाई साधारण सदस्यता समेत नरहने गरी कारबाहीको सिफारिस केन्द्रमा पठाइसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार