सर्लाही – भाद्र २३ र २४ गते जेन-जी युवाहरूले आयोजना गरेको र्याली तथा विरोध प्रदर्शनका क्रममा सरकारी र निजी कार्यालय, बैंक, वित्तीय संस्था तथा व्यापारिक प्रतिष्ठानबाट हराएका वा लुटिएका सामान फिर्ता गर्न सर्लाही प्रहरीले कडा चेतावनी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सो क्रममा कागजात, ऐतिहासिक अभिलेख, बहुमूल्य सामान, नगद, सवारीसाधनदेखि हातहतियारसम्म हराएको वा बलपूर्वक लगिएको सूचनाहरू प्राप्त भएका छन्। प्रहरीका अनुसार यस्ता सामग्री तुरुन्तै बुझाइएन वा बिक्री वितरणमा संलग्नता देखियो भने प्रचलित कानुन अनुसार कठोर कारबाही हुनेछ।

“लुटिएका वा चोरी गरिएका वस्तु तात्कालिक रूपमा प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ, अन्यथा कानुनी दायरामा ल्याइनेछ,” प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रहरीले घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक गरिएका प्रमाणहरू उपलब्ध गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रमाण उपलब्ध गराउने व्यक्तिको विवरण गोप्य राखिने जनाइएको छ। यस्तै प्रहरीले स्थानीयलाई सर्तक रहन र कुनै पनि शंका लाग्दो गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। साथै, क्षति पुगेका कार्यालय तथा व्यवसायिक प्रतिष्ठानलाई नजिकको प्रहरी चौकीमा सम्पर्क गरी औपचारिक उजुरी दर्ता गर्न सुझाव दिइएको छ।





