सर्लाही – मधेश प्रदेशमा मुख्यमन्त्री सतिष कुमार सिंहको फेसबुकमार्फत राजीनामा घोषणापछि सत्ता समीकरण झन् जटिल बन्दै गएको छ। जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते तोडफोड, आगजनी र लुटपाट बढेपछि सिंहले सामाजिक सञ्जालमार्फत जनताको ज्यान धनको सुरक्षा प्रमुख मान्दै पदबाट हट्ने निर्णय सार्वजनिक गरेका थिए।
तर, यो कदमलाई जनमत पार्टीले स्वागत गर्दै तत्कालीन समर्थन फिर्ता लिने निर्णय गर्यो। अध्यक्ष चन्द्रकान्त (सिके) राउत र प्रवक्ता शरदसिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने घोषणा गरे। यससँगै मुख्यमन्त्री सिंहलाई हटाउने अभियानमा जनमत पार्टी सक्रिय देखियो।

सिंहले भने आफ्नो राजीनामा तत्काल औपचारिकरूपमा बुझाउन नसकेको बताए। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी त्यतिबेला काठमाडौंमा अड्किएको कारण र जनकपुर फर्कन विमानस्थल बन्द हुँदा सम्भव समस्या परेको बताईएको छ। त्यहीबीच भदौ २८ गते जनमतका नेता महेश प्रसाद यादवले सरकारलाई समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराए।
पत्र दर्ता प्रक्रियाले सिंहलाई असन्तुष्ट तुल्यायो। उनले प्रदेश प्रमुख अनुपस्थित भएको बेला मुख्यमन्त्रीलाई एकतर्फी रूपमा हटाउने चालबाजी भएको आरोप लगाए। त्यसपछि सिंहले एमाले, नेपाली कांग्रेस, लोसपा र प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) समेतका नेताहरूसँग संवाद गर्दै समर्थन जुटाए। दलहरूको प्रतिक्रियाले उनलाई विश्वासको मत लिने र पदमा टिकिरहने आत्मविश्वास दिलायो।
जनमत पार्टीले भने दबाब बढाउँदै मुख्यमन्त्रीलाई २४ घण्टे र ३ दिने स्पष्टीकरण पत्र समेत पठायो। तर सिंहले त्यसलाई बेवास्ता गरे। जनमतले आफ्ना दुई मन्त्री (उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्री सञ्जय कुमार कुशवाहा) लाई फिर्ता बोलाइसकेको छ।
यता एमाले भित्र पनि आन्तरिक समीकरण सहज छैन। एमालेबाट मन्त्री बनेका सरोज कुमार यादव लगातार दुई पटक सरकारमा समेटिएका थिए। तर पार्टीभित्रै उनलाई कमिसनको आरोप लागेकाले फेरि मन्त्री बन्ने सम्भावना कमजोर देखिन्छ। यस्तो अवस्थामा एमाले मुख्यमन्त्री सिंहलाई जसरी पनि बचाउन चाहन्छ।
तर एमालेकै प्रमुख सचेतक हरिनारायण महतो भन्छन्, “मुख्यमन्त्रीले राजीनामा घोषणा गरिसकेपछि नैतिकताको आधारमा पद त्याग्नैपर्छ।” यसैविँच जनमत दलका नेता महेश यादव भने पहिले नै मुख्यमन्त्री बन्न नपाएको गुनासोका कारण सिंहलाई हटाउन अझै आक्रामक बनेका छन्।
यसरी सिंहको फेसबुक राजीनामाले सुरु भएको घटनाक्रम अहिले मधेशमा एमाले र जनमतबीचको कडा सत्ता खेलमा परिणत भएको छ।





