सर्लाही – सरकारले अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउन सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि जिम्मेवारी दिनुपर्ने निर्णय गरेको हो। मन्त्री बन्ने संकेत पाएलगत्तै डा. मिश्राले आइतबार नै अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।

अब मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले शपथ ग्रहण गरी औपचारिक रूपमा मन्त्रालयको नेतृत्व लिने प्रक्रिया अघि बढ्नेछ। स्वास्थ्य प्रशासनमा लामो समय काम गर्दै आएकी डा. मिश्राले नीति निर्माणदेखि स्वास्थ्य कार्यक्रम र सेवा सुधारसम्म सक्रिय भूमिका निर्वाह गरेकी छिन्।
उनी नेतृत्वमा सिफारिस हुनु भनेको प्राविधिक तथा प्रशासनिक अनुभवलाई कार्यकारी तहमा रूपान्तरण गर्ने सरकारी प्रयासका रूपमा लिइएको छ। स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने र सुधारका चुनौतीबीच डा. मिश्राले मन्त्रीको हैसियतमा अब नयाँ जिम्मेवारी सम्हाल्न लागेकी हुन्।





