यौन दुर्व्यवहार, मानव अधिकार र महिलासम्बन्धी विषयका पुस्तक प्रतिबन्ध

२०८२ आश्विन ६, सोमबार ०८:११

सर्लाही – अफगानिस्तानमा तालिबान सरकारले फेरि एकपटक कठोर कदम चालेको छ । देशका विश्वविद्यालयहरूमा यौन दुर्व्यवहार, मानव अधिकार र महिलासम्बन्धी विषय समेटिएका पुस्तकहरूमा प्रतिबन्ध लगाइएको हो ।

सन् २०२५ अगस्ट २८ देखि लागू भएको यो निर्णयअनुसार कुल ६७९ पुस्तक ‘शरीया र तालिबान नीति विपरीत’ भन्दै प्रतिबन्धित सूचीमा परेका छन् । तीमध्ये १४० पुस्तक महिलाले लेखेका थिए ।

केवल पुस्तक मात्रै होइन, तालिबानले विश्वविद्यालयका १८ विषयको पढाइसमेत रोकिदिएको छ । यौन दुर्व्यवहारसम्बन्धी अध्ययन, मानव अधिकार, महिला समाजशास्त्र र लैंगिक अध्ययनजस्ता विषय अब विश्वविद्यालयमा पढ्न पाइने छैनन् ।

यो कदम तालिबानले पछिल्ला वर्षमा लगाएका थुप्रै नियन्त्रणमध्ये अर्को कडी बनेको छ । यसअघि उनीहरूले देशका १० प्रान्तमा वाईफाई प्रयोगसमेत ‘अनैतिक गतिविधि रोक्न’ भन्दै बन्द गरेका थिए ।

यस प्रतिबन्धको सबैभन्दा ठूलो असर महिलामाथि परेको छ । महिलालाई कक्षा ६ भन्दा माथि पढ्न रोक लगाइसकिएको अवस्थामा अब उनीहरूले लेखेका पुस्तकहरू पनि हटाइने भएको छ । समीक्षा समितिले ‘महिलाले लेखेको कुनै पनि पुस्तक पढाउन अनुमति नहुने’ स्पष्ट पारेको छ ।

पूर्व उपन्याय मन्त्री तथा लेखिका जकिया अदेलीको पुस्तक पनि प्रतिबन्धित सूचीमा परेको छ । उनले तालिबानको नीति सुरुदेखि नै महिलाविरोधी रहेको टिप्पणी गर्दै यो निर्णय आफूलाई अचम्म नलागेको बताइन् । प्रतिबन्ध केवल महिलाको साहित्यमा सीमित छैन । यसपटक ३१० इरानी लेखक तथा प्रकाशकका पुस्तकसमेत हटाइएका छन् ।

तालिबानका अनुसार ‘अफगान शिक्षा क्षेत्रमा इरानी प्रभाव बढ्न नदिन’ यस्तो कदम चालिएको हो । इरानसँग पानी बाँडफाँडलगायतका मुद्दामा सम्बन्ध तिक्त हुँदै गएको अवस्थामा यसलाई राजनीतिक निर्णयका रूपमा पनि व्याख्या गरिएको छ । शिक्षकहरू भने यसले विश्वविद्यालयको स्तर खस्काउने चेतावनी दिइरहेका छन् ।

इरानी लेखक र अनुवादकका पुस्तकले अफगान शिक्षा जगतलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने काम गर्दै आएको उनीहरूको भनाइ छ । अब आफ्नै अध्याय लेख्नुपर्ने बाध्यता त हुने तर ती सामग्री अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड पूरा गर्ने वा नगर्ने भन्ने अनिश्चित भएको उनीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार