मन्त्री बन्ने सूचीबाट काटियो डा.संगिता मिश्राको नाम

२०८२ आश्विन ६, सोमबार १०:१८

सर्लाही – अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पठाएको मन्त्रिपरिषद् विस्तारको सूचीबाट डा. संगीता कौशल मिश्राको नाम अन्तिम घडीमा काटिएको छ। आइतबार कार्कीले मिश्रलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित पाँच जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन्।

तर मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चलिरहेको भन्दै सोमबार उनको नाम सच्याएर पुनः चार मन्त्रीको मात्र सूची राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको हो।

मन्त्रिपरिषद्को स्रोतका अनुसार अब उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र पद तथा गोपनीयताको शपथ लिनेछन्। “स्वास्थ्यमन्त्री पद फिलहाल खाली राखिएको छ,” स्रोतले स्पष्ट गर्‍यो।

मिश्र स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्। तर नागरिकता विवाद र अनियमिततासम्बन्धी मुद्दामा मुछिएकी कारण उनको उम्मेदवारी अन्तिम क्षणमा खारेज गरिएको बताइएको छ।

यसअघि अन्तरिम मन्त्रिपरिषद्मा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार) र ओमप्रकाश अर्याल (गृह तथा कानुन, न्याय र संसदीय मामिला) मन्त्री भइसकेका छन्।

गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार पतन भएको थियो। त्यसपश्चात् राष्ट्रपति पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दै संसद् विघटनसमेत गरेका थिए। अब कार्की नेतृत्वको सरकारलाई आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने प्रमुख जिम्मेवारी छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार