सर्लाही – नेपालीहरूको महान् पर्व बडादशैंको दोस्रो दिन मंगलबार देशभरका देवीमन्दिर र शक्तिपीठहरूमा ब्रह्मचारिणी माताको विशेष पूजा–अर्चना भइरहेको छ। देवीलाई ब्रह्मविद्या शक्तिकी माता र भक्तिको प्रतीकका रूपमा मान्ने परम्परा रहेको छ।
हिन्दू शास्त्रअनुसार ब्रह्मचारिणी देवीको आराधनाले साधकले ब्रह्मअनुसार आचरण गर्ने सामर्थ्य पाउने र ब्रह्मचर्य जस्तो परम पदमा पुग्ने मार्ग प्रशस्त हुन्छ। सांसारिक मोह–मायाबाट मुक्त भई ज्ञानप्राप्ति गर्न साधकलाई देवीको कृपा अपरिहार्य हुने विश्वास रहिआएको छ।

ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको रुप मानिन्छ। यस अवस्थामा उनी तपस्विनी र योगिनीका रूपमा चित्रण गरिएको छ। देवीका दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु हुन्छ, जसले तपस्याको प्रतीक झल्काउँछ।
नवरात्रको दोस्रो दिन कुमारी बालिकाको पूजा गर्ने परम्परा पनि छ। घरमा निम्त्याइएका कन्यालाई पूजा गरेर भोजन गराइएपछि मात्र आफैं खाने चलन छ। देवीका तीन रुप, महाकाली, महालक्ष्मी र महासरस्वतीलाई पनि नवरात्रमा विशेष विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ।
नवरात्रभरि पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यी सबै रुपहरूलाई ‘नवदुर्गा’ भनिन्छ।
दशैंलाई दैवी शक्तिले आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गरेको प्रतीकका रूपमा मनाइन्छ। शास्त्रअनुसार दुर्गापूजा कुनै जात वा धर्म विशेषमा सीमित नरही सम्पूर्ण मानव जातिकै पर्व हो भन्ने उल्लेख पाइन्छ।
नवरात्रका दिनमा दुर्गासप्तशती, चण्डी, श्रीमद्देवीभागवत लगायतका ग्रन्थहरूको पाठ तथा स्तुति–स्तोत्रको पारायण गर्ने चलन छ। बडादशैंको सातौं दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा बलिपूजा गरेर विशेष आराधना गरिन्छ।





