अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता

२०८२ आश्विन ७, मंगलवार ०७:३८

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा मात्रै ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन्।

आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको ३५औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका २८ हजार ५५४ उजुरी र अघिल्ला वर्षबाट जिम्मेवारी सरसहित आएका आठ हजार ४७२ उजुरी मिलेर सो संख्या पुगेको हो।

सबै भन्दा धेरै १० हजार २४५ उजुरी (२७.६७ प्रतिशत) अनलाइनमार्फत आयोगको वेबसाइट प्रयोग गरी पाइएको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि लिखित निवेदन, इमेल, हुलाक, टेलिफोन र सामाजिक सञ्जालमार्फत पनि उल्लेख्य उजुरी आयोगमा पुगेका छन्।

कुल दर्तामध्ये १९ हजार ५६१ उजुरी (५२.८३ प्रतिशत) आयोगको केन्द्रीय कार्यालय टंगालमा छन्। मातहत कार्यालयमध्ये बर्दिबास सबैभन्दा बढी सक्रिय देखिएको छ, जहाँ तीन हजार ९७० उजुरी (१०.७२ प्रतिशत) दर्ता भएका छन्। नेपालगञ्ज सम्पर्क कार्यालय भने सबैभन्दा कम उजुरी दर्ता भएको कार्यालय बनेको छ, जसमा ९०२ उजुरी (२.४४ प्रतिशत) मात्र पुगेका छन्।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, केन्द्रीय कार्यालय काठमाडौंका साथै इटहरी, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुर, बर्दिवास र नेपालगञ्जमा रहेका कार्यालयमार्फत कार्यसम्पादन भइरहेको छ।

आयोगमा हाल ९९० कर्मचारी दरबन्दी रहेको र ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको पनि जानकारी गराइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार