सर्लाही – सिरहाको गोलबजार नगरपालिका – १३, डंग्राहामा अपहरणमा परेका १५ वर्षीय अभिषेक महतो मृत अवस्थामा फेला परेका छन्। आइतबार बेलुकी घर नजिकैबाट हराएका महतो मंगलबार बिहान घरदेखि करिब सय मिटर टाढा रहेको आँपको बगैचामा शवसहित भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार महतोको हातखुट्टा बाँधिएको र शरीरमा एसिड हालिएको अवस्थामा शव फेला परेको हो। प्रहरीका अनुसार उनको शव आँपको रुखमुनी लुकाइएको थियो।

आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकतर्फ हिँडेका थिए। तर उनी फर्किएनन्। परिवारले रातभर खोजतलास गरे पनि केही अत्तोपत्तो लागेन।
सोमबार बिहान मात्र महतो परिवारको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती मागिएको सन्देश आएको थियो। परिवारले तुरुन्तै प्रहरीलाई जानकारी गराए पनि, घटनामा समयमै संवेदनशीलता नदेखाएको आरोप प्रहरीमाथि लागेको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





