भारतको बिहारस्थित सीतामढी जिल्लामा मंगलबार दिउँसो एक बैंक कर्मचारीमाथि गोली प्रहार गरी रकम लुटिएको छ। रौतहटसँग सीमाना जोडिएको बैरगनिया बजारमा भएको यस घटनाले स्थानीयलाई आत्ताएको छ।
बाजबटी थाना अन्तर्गतका ३० वर्षीय श्रवणकुमार राय ‘बंधन को-अपरेटिभ बैंक’मा कार्यरत कर्मचारी हुन्। महिला समूहबाट किस्ताको रकम संकलन गरेर फर्किने क्रममा पचटकी यदु पञ्चायत नजिकै मोटरसाइकलमा आएका नकाबधारी लुटेराले उनलाई निशाना बनाएका हुन्।

लुटपाटको प्रयास रोक्न खोज्दा लुटेराले श्रवणलाई काँधमा गोली प्रहार गरी रकमसहित फरार भएको प्रहरीको भनाइ छ। गोलीको आवाजपछि घटनास्थलमा पुगेका स्थानीयले उनलाई उद्धार गरी बैरगनिया सामुदायिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गराएपछि सीतामढी सदर अस्पताल पठाइएको हो।
घटनापछि बैरगनिया थानाका प्रहरी निरीक्षक कुमोदकुमार सिंह र बलराम प्रसादको टोली घटनास्थल पुगेको थियो। हाल प्रहरी टोलीले घटनास्थलबाट प्रमाण संकलन गरी लुटपाटमा संलग्नको खोजी सुरु गरेको जनाएको छ।





