बडादशैंको तेस्रो दिन: आज चन्द्रघण्टा देवीको पुजा आराधना गरिँदै

२०८२ आश्विन ८, बुधबार ०६:५७

सर्लाही – नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज ( बुधबार ) चन्द्रघण्टा देवीको विशेष पूजा–आराधना गरी मनाइँदैछ । घटस्थापनादेखि सुरु भएको नौ दिनको ब्रतमध्ये आज तृतीयाको दिन देवी चन्द्रघण्टाको स्मरण गरी विधिपूर्वक पूजा गर्ने चलन छ ।

धार्मिक मान्यताअनुसार बिहान आत्मशुद्धि पश्चात् जमरा राखिएको स्थानमा खोलानदीको पवित्र जल अर्पण गर्ने परम्परा छ । कलशमा पञ्चपल्लव चढाई महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकस्वरूप पञ्चोपचार पूजा गरिन्छ । यसरी गरिएको कलशपूजामा सम्पूर्ण देवी देवता, सप्तसागर, सप्तद्वीप र तीर्थस्थानहरूको प्रतीक रहेको विश्वास गरिन्छ ।

यस दिन बलि अर्पण गर्ने प्रथा पनि रहेको छ । श्रौतयज्ञानुसार पशुबलि गर्ने वा शाकाहारीहरूले नरिवल, ऊखु, कुभिण्डो आदि चढाउने गरिन्छ । पूजापछि मात्र यस दिनको धार्मिक कर्म सम्पन्न हुने मान्यता छ ।

जमराको धार्मिक र वैज्ञानिक महत्व दुवै रहेको बताइन्छ । गहुँ–जौको जमराले सुख, शान्ति, समृद्धि दिने विश्वास छ भने आयुर्वेदका जानकारहरूका अनुसार जौका अंकुर औषधीय गुणले भरिपूर्ण हुन्छन् । जमरालाई शिरमा धारण गर्दा मानसिक अशान्ति कम हुने तथा स्वास्थ्यमा लाभ पुग्ने भनाइ छ ।

नवरात्रिका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ । यी नवै रूपलाई मिलेर नवदुर्गा भनिन्छ । दुर्गा पूजालाई सत्यको विजय र दैवीशक्तिको प्रतीकका रूपमा लिइन्छ ।

महानवमीसम्म प्रत्येक दिन कन्या पूजाको विशेष महत्व हुन्छ भने सातौं दिन फूलपाती भित्र्याउने परम्परा छ । महाअष्टमी र महानवमीमा दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा हुन्छ । नवरात्रभर दुर्गासप्तशती, चण्डी, देवीभागवत लगायत स्तोत्रहरूको पारायण गर्ने परम्परा पनि जगेर्नामा छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार