यूएईमा कार्यरत नेपालीहरुलाई नियम पालना गर्न दूतावासको आग्रह

२०८२ आश्विन ८, बुधबार ०७:४७

सर्लाही – अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत सम्पूर्ण नेपालीलाई त्यहाँको कानुन, नियम र अनुशासन कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

पछिल्ला दिनमा केही नेपालीहरू गैरकानुनी गतिविधिमा संलग्न भई समस्यामा परेको घटनामा वृद्धि भएपछि दूतावासले मंगलबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सचेत गराएको हो ।

सूचनामा भनिएको छ, “यूएईमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो काममा इमानदारी, कर्तव्यनिष्ठा र अनुशासन कायम गर्दै बसोबास गरिरहेको मुलुकको कानुन र मूल्य मान्यतालाई पूर्ण रूपमा पालना गर्न अत्यन्तै जरुरी छ ।”

दूतावासले पछिल्लो समय नेपालीहरूबीच मादक पदार्थ सेवन र झैझगडा, बैंकिङ कसुर, आपसी नगदी कारोबार, लागुऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर अपराध, अध्यागमन नियम उल्लंघन, ट्राफिक नियम तोडफोड तथा फ्रिलान्स भिसाको प्रलोभन जस्ता घटनामा संलग्नता बढेको जानकारी दिएको छ।

“यी सबै कार्य यूएईमा कानुनत: दण्डनीय भएकाले यस्ता गतिविधिबाट टाढा रहनु र विशेष सावधानी अपनाउनु सबै नेपालीको जिम्मेवारी हो,” दूतावासले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार