सर्लाही – भारतको केन्द्रशासित प्रदेश लद्दाखमा पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित सुरु भएको आन्दोलन मंगलबार हिंस्रक बनेको छ । विद्यार्थी र सुरक्षाकर्मीबीच झडप भएपछि भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । साथै, उनीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दै सशस्त्र बल (सीआरपीएफ) को गाडी समेत जलाएका छन् भन्ने समाचार आएका छन् ।
आन्दोलनमा सहभागी विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङचुकको समर्थनमा सडकमा उत्रिएका थिए । वाङचुक विगत १५ दिनदेखि आमरण अनशनमा थिए भने अपूरा मागहरूमाथि दबाब सिर्जना गर्न आजका लागि बन्द आह्वान गरिएको थियो । यही क्रममा परिस्थिती नियन्त्रणबाहिर गएर हिंसा भड्किएको जनाइएको छ ।

घटनापछि वाङचुकले विज्ञप्ति जारी गर्दै भने, “यो लद्दाखका लागि पीडादायी क्षण हो । पाँच वर्षदेखि हामी शान्तिपूर्ण बाटोमै संघर्ष गर्दै आएका थियौं—अनशन बस्यौं, लेहदेखि दिल्लीसम्म पैदल यात्रासमेत गर्यौं । तर आज हाम्रो शान्तिको सन्देश कमजोर भएको देखिन्छ । हिंसा, आगजनी र गोलीबारीले मात्र क्षति पुर्याउँछ ।” उनले लद्दाखका युवालाई हिंसात्मक गतिविधि रोक्न आग्रह गर्दै अनशन तोड्ने र आन्दोलन स्थगित गर्ने घोषणा गरे ।
यसबीच, माग सम्बोधनका लागि अर्को वार्ता अक्टोबर ६ मा दिल्लीमा हुने तय भएको छ । सन् २०१९ मा संविधानको धारा ३७० र ३५ए खारेजसँगै जम्मु–कश्मीर र लद्दाखलाई दुई अलग केन्द्रशासित प्रदेशका रूपमा गठन गरिएको थियो । सो क्रममा सरकारले अवस्था सामान्य भएपछि पूर्ण राज्यको दर्जा दिने वाचा गरेको थियो, तर अहिलेसम्म कार्यान्वयन भएको छैन ।





