लुकाएर राखिएको १५४ बोरा अनुदानको मल बरामद

२०८२ आश्विन ८, बुधबार २०:०६

सर्लाही – सिरहामा कालोबजारी गरेर बिक्री गर्न लुकाइएको ठूलो परिमाणको अनुदानको मल बरामद गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा गठन भएको संयुक्त अनुगमन टोलीले गोलबजार नगरपालिका–६, पानिट्याङ्की नजिकै रहेको गोदामबाट १५४ बोरा मल बरामद गरेको हो। बरामद मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडमार्फत अनुदानमा आएको ९६ बोरा डिएपी, ३६ बोरा युरिया र ६ बोरा पोटास छन्।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत आपूर्ति भएको ६ बोरा युरिया र एक बोरा पोटाससहित अन्य ९ बोरा गैरअनुदानको मल पनि भेटिएको जिल्ला प्रशासन कार्यालयका कर्मचारी अनिल कुमार यादवले जानकारी दिए। किसानहरूले अनुदानको मल व्यापारीहरूले खरिद गरेर दोब्बर मूल्यमा बेचिरहेको गुनासो गरेपछि अनुगमन टोली सक्रिय बनेको थियो।

सोही आधारमा गरिएको छापामा १५४ बोरा मल बरामद हुनुका साथै धमिनीस्थानस्थित अर्को गोदामलाई पनि शील गरिएको टोलीले जनाएको छ। स्थानीयवासीले बरामद गरिएको मल रहेको गोदाम कौशल महतोको भएको जानकारी दिएको भए पनि धनी सम्पर्कमा आएको छैन।

कृषि सामग्री कम्पनी लहानका प्रमुख दिपराज पौडेलका अनुसार यसबारे थप अनुसन्धान सुरु गरिएको छ। अनुगमनको खबर सुनेपछि गोलबजारका धेरै कृषि विजभण्डारहरू तत्काल बन्द भएका थिए भने सञ्चालकहरू फरार भएको स्थानीयले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार