बडादशैंको चौथो दिन: आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

२०८२ आश्विन ९, बिहीबार ०७:५२

सर्लाही – बडादशैंको चौथो दिन आज घर घरका पूजाकोठामा नौदुर्गामध्येकी चौथी रूप कुष्माण्डा देवीको विशेष पूजाराधना भइरहेको छ।

आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीलाई आह्वान गरी विधिपूर्वक पूज्ने परम्परा छ। यसअघि घटस्थापनाको दिनदेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टाको आराधना गरिसकेपछि आज कुष्माण्डा देवीलाई श्रद्धा अर्पण गर्ने चलन रहेको छ।

धार्मिक विश्वासअनुसार कुष्माण्डा देवीले भक्तजनलाई आध्यात्मिक, भौतिक र दैवी दुःख–कष्टबाट मुक्त गरिदिन्छिन्। पुराणमा उहाँलाई सुराले भरिएको घट र रगतयुक्त पात्र धारण गर्ने स्वरूपमा चित्रण गरिएको छ।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका देवीस्तोत्रको पाठसहित पूजा अर्चना गर्ने परम्परा छ। देवीको आराधनाबाट शक्ति, विद्या र ऐश्वर्य प्राप्त हुने विश्वास रहँदै आएको छ।

नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ रूपलाई नै सामूहिक रूपमा नवदुर्गा भनिन्छ।

धार्मिक शास्त्रअनुसार दुर्गादेवी असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हुन्। यही विश्वासका आधारमा दुर्गापूजा र दशैं कुनै जात वा धर्म विशेषमा मात्र सीमित नभई सम्पूर्ण मानव जातिद्वारा मनाइने पर्व मानिन्छ।

दशैं पर्वअन्तर्गत सातौं दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गरिन्छ। यस अवसरमा कन्या पूजाको विशेष महत्व पनि रहेको छ, जसमा दुई वर्षमाथिका नौ कन्यालाई नवदुर्गाको प्रतीक मानी श्रद्धापूर्वक पूज्ने परम्परा छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार