कांग्रेस बाहिरिएपछि सिंह अल्पमतमा, मधेशमा नयाँ सरकार बनाउन दौड शुरु

२०८२ आश्विन ९, बिहीबार १०:३४
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह अल्पमतमा परेका छन् । मुख्यमन्त्री सतीश कुमार सिंह नेपाली कांग्रेसले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका हुन्। बुधबार कांग्रेसले औपचारिक रूपमा समर्थन फिर्ता घोषणा गरेपछि प्रदेश सरकार संकटमा परेको छ।

कांग्रेसको निर्णयसँगै अहिले सरकारसँग एमालेका २४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७ र मुख्यमन्त्री सिंहसहित जम्मा ३२ सांसद मात्रको समर्थन बाँकी छ। यसअघि जनमत पार्टीले पनि आफ्नो समर्थन फिर्ता लिएर पत्र प्रदेशसभामा दर्ता गराइसकेको थियो। मंगलबारको बैठकमै जनमतका सांसदहरू विपक्षी बेञ्चमा बसेका थिए।

यस्तोमा सरकारविरुद्ध अहिले ७२ सांसद उभिएका छन्। जसमा कांग्रेसका २२, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जनमतका १२ र नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति तथा राप्रपाका एक–एक सांसद सामेल छन्।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। लामो समयदेखि राजीनामा दिन अस्वीकार गर्दै विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री सिंहलाई कांग्रेसको पछिल्लो कदमले ठूलो धक्का पुगेको छ।

नयाँ सत्ता समीकरणको खोजी सुरु भइसकेको छ। कांग्रेस नेतृत्वको सरकार गठन गर्ने प्रयास भइरहेको छ भने एमाले र लोसपा पनि वैकल्पिक गठबन्धनको सम्भावना खोजिरहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार