
सर्लाही – रौतहटमा मेडिकल पसल सञ्चालन गर्ने आडमा प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएका एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका – ७ नयाँबस्तीका ५३ वर्षीय लालबाबु (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार साहले मेडिकलमार्फत ट्रामाडोलजस्ता लागुऔषध बिक्री वितरण गर्दै आएको प्रमाण फेला परेको छ। साहको पसल र घरमा गरिएको अनुसन्धानका क्रममा ठूलो मात्रामा लागुऔषध बरामद भएको छ। ना.३३ प ९५३३ नम्बरको मोटरसाइकलसमेत जाँच गर्दा साहकै साथबाट ट्रामाडोल ३०० पत्ता (३,००० पिस) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।

बरामद सामग्रीसहित साहलाई नियन्त्रणमा लिएर चन्द्रनगाहपुर तल्लो बजारस्थित प्रहरी पोष्टमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमै साहले लामो समयदेखि मेडिकल व्यवसायलाई आवरण बनाएर लागुऔषध कारोबार गर्दै आएको आशंका गरिएको छ। घटनाबारे थप विवरण आइसकेपछि मात्रै सम्पूर्ण तथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ।