सर्लाही – प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव अहिलेको सरकारले गराउन नसक्ने स्पष्ट पारेकी छिन् ।
बिहीबार राष्ट्रलाई सम्बोधन गर्दै उनले नेपालको विद्यमान शासकीय संरचनामा परिवर्तन गर्न संविधान संशोधन अपरिहार्य हुने र त्यो काम आगामी निर्वाचनपछि बन्ने सरकारको जिम्मेवारी हुने बताइन् ।

प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई निर्णायक मान्दै युवापुस्तालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरिन् । “जनताको नयाँ जनादेशपछि मात्र संविधान संशोधनको बाटो खुल्नेछ,” उनको भनाइ थियो ।
हालैको जेन–जी आन्दोलनपछि प्रदेश संरचना र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनावबारे चर्का बहस भए पनि प्रधानमन्त्रीले त्यो माग तत्काल पूरा गर्ने सम्भावना नदेखाइन् । उनले भने, “वर्तमान सरकारको दायरा यस किसिमको संरचनागत परिवर्तनसम्म पुग्दैन ।”
सम्बोधनमा उनले भ्रष्टाचारविरुद्ध सुरु गरिएको अभियानबारे पनि उल्लेख गरिन् । आन्दोलनको क्रममा नेताका घरमा भेटिएको भनिएको नगद प्रकरणमा छानबिन अघि बढेको जानकारी दिँदै उनले दोषी उम्कन नसक्ने चेतावनी दिइन् ।
निर्वाचनलाई शान्तिपूर्ण र समयमै सम्पन्न गर्ने तयारीमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीले बताइन् । विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने विषयमा छलफल सुरु भएको उनको भनाइ थियो ।
औद्योगिक क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलनका लागि गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिइन् ।
त्यस्तै पुनर्निर्माण र सुधारका काममा नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सबैलाई एकताबद्ध भई अगाडि बढ्न आह्वान गरिन् ।





