मधेसमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना: सर्लाहिसहित आठ जिल्लामा ६ हजार ५३२ प्रहरी परिचालन

२०८२ आश्विन १०, शुक्रबार १३:०७
सांकेतिक तस्बिर

सर्लाही – जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। आगामी असोज ६ गतेदेखि छठ पर्व सम्पन्न नहुन्जेलसम्म लागू हुने यो योजनाअनुसार प्रदेशका आठै जिल्लामा गरी ६ हजार ५३२ प्रहरी खटाइने भएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाका अनुसार अपराध नियन्त्रण, सडक सुशासन र सर्वसाधारणलाई भयमुक्त वातावरणमा चाडपर्व मनाउन दिने उद्देश्यले यो योजना बनाइएको हो। उनले भने, “पर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन दिइने छैन, आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइनेछ।”

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठै जिल्लामा सरदर ८ सय प्रहरी परिचालन हुनेछन्। यस क्रममा ४८ वटा क्यूआरटी टोली, १९ स्ट्राइकिङ टोली, ११६ स्थानमा ट्राफिक चेकिङ, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती र २६ स्थानमा राजमार्ग स्कर्टिङलगायतका गतिविधि सञ्चालन गरिनेछ।

साथै, ८६ टोलीलाई धार्मिक तथा पर्यटकीय स्थलमा, १०३ स्थानमा बैंक तथा वित्तीय संस्थामा र १४ स्थानमा बजार अनुगमनका लागि खटाइने जनाएको छ। जेनजी आन्दोलनको रापताप अझै कायम रहेको र खुला सीमाका कारण लुटपाटमा प्रयोग भएका हतियार दुरुपयोग हुन सक्ने जोखिम रहेको सुरक्षात्मक मूल्याङ्कन प्रहरीले गरेको छ। त्यसैले योजनाबद्ध निगरानी र कडा अनुगमन आवश्यक रहेको बताइएको छ।

यसैबीच प्रदेश प्रहरी प्रमुख डीआइजी उमा प्रसाद चतुर्वेदीले नागरिकलाई ढुक्क भएर पर्व मनाउन आग्रह गर्दै चोरी, लुटपाट, पाकेटमार, कृत्रिम अभाव, मूल्यवृद्धि र ठगी नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिए। उनका अनुसार नाकाहरूमा आकस्मिक चेकिङ, लङ रन्ज तथा सानो दूरीको पेट्रोलिङ, सार्वजनिक सवारीमा तोकिएको भन्दा बढी भाडा लिन नदिने व्यवस्था, पटका आतिशबाजी र विस्फोटक पदार्थ नियन्त्रण, अवैध मदिरा तथा जुवातास रोकथाम लगायतका निर्देशन जारी गरिएको छ।

उनले सीमाक्षेत्रलाई संवेदनशील ठहर गरी त्यहाँ विशेष प्रहरी परिचालन गरिएको पनि बताए। चतुर्वेदीले भने, “मुख्य उद्देश्य भनेकै हरेक नागरिकले सुरक्षित र शान्त वातावरणमा पर्व मनाउन सकून् भन्ने हो।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार