सर्लाहीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, एक जना घाइते

२०८२ आश्विन ११, शनिबार ०७:५२
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा सवारी दुर्घटना परि दुई जनाको मृत्यु एक जना घाइते भएका छन्। जिल्लाको ब्रहम्पुरी गाउँपालिका – ५ स्थित हुलाकी सडक खण्डमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेतिर पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एम एच ०४ डिजे १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए।

घाइतेमध्ये ब्रहम्पुरी – २ का २३ वर्षीय अंकित चौधरीलाई गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि जनकपुरस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो। तर उपचारकै क्रममा राति ११:४५ बजेतिर रामजानकी अस्पताल जनकपुरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

त्यस्तै मोटरसाइकलमा सवार २५ वर्षीय रोहित सहनीको पनि टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो, उनको राति करिब १०:२० बजे उपचारकै क्रममा मृत्यु भएको हो। उनको शव अस्पतालको शवगृहमा राखिएको बताईएको छ।

घाइतेमध्ये अर्का २३ वर्षीय शिवशंकर पण्डितको बाँया हात र दुबै खुट्टामा चोट लागेकाले उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पतालमा रिफर गरिएको छ। उनको हाल उपचार भईरहेको छ।

घटनापछि स्कारपियो चालक फरार भएका छन् भने ठक्कर दिने स्कारपियो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार