गोडैता नगरपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

२०८२ आश्विन ११, शनिबार ०९:५०

गोडैता – गोडैता नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। गोडैता – ७, गोडैता बजारमा निर्माण भइरहेको तीनतले भवन आगामी कार्तिक महिनाभित्र सम्पन्न गरी प्रयोगमा ल्याउने तयारी गरिएको छ।

२०७९ साल चैत ३० गते पार्वती–अरविन्द जेभी नेपालगञ्ज बाँकेसँग ६ करोड ३२ लाख ५६ हजार ७२५ रुपैयाँ १० पैसामा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने योजना थियो।

तर निर्माण कार्यका बीचमा उत्पन्न भएका समस्या र विवादका कारण तोकिएको समयमा काम पूरा हुन नसकेको नगरपालिकाले जनाएको छ। नगरप्रमुख देवेन्द्र यादवका अनुसार हाल काम तीव्र गतिमा भइरहेको छ र भवनको अन्तिम चरणको काम सकिनै लागेको छ।

‘आगामी कार्तिकदेखि नयाँ भवनबाट सेवा दिन सुरु गर्ने तयारीमा छौं, यदि कार्तिकमा पनि नभए मंशिर पहिलो हप्ताबाट सेवा दिन सुरु गर्ने तयारी गरिरहेका छौ।’ उनले धड्कन एफएमसँगको कुराकानीमा बताए।

नगरपालिका बिगत सात वर्षदेखि नै भाडाको घरबाट सञ्चालित हुँदै आएको छ। अब नयाँ भवन सञ्चालनमा आएपछि नगरवासीले एउटै छानामुनि सहज, व्यवस्थित र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार