
सर्लाही – शिक्षक तलब प्रकरणमा विवाद उत्पन्न भएपछि शिक्षामन्त्री महावीर पुनले आफनो अभिव्यक्ति सच्याएका छन्। यसअघि उनले विद्यालय प्रधानाध्यापकलाई लक्षित गर्दै “भोलिसम्म शिक्षकलाई तलब नदिए कारबाही हुन्छ” भनेर सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए।
तर, शिक्षकलाई तलब निकासा गर्ने जिम्मेवारी विद्यालय होइन, स्थानीय पालिकाको हुने तथ्य सार्वजनिक भएपछि उनको भनाइ व्यापक आलोचनामा परेको थियो। चौतर्फी विरोधपछि मन्त्री पुनले अर्को सूचना जारी गर्दै तलब रोक्ने पालिकामाथि कारबाही हुने चेतावनी दिएका छन्।

उनले भनेका छन्, “शिक्षा मन्त्रालयले दशैंअघि नै तलब सम्बन्धित पालिकामा पठाइसकेको छ। तर केही पालिकाले जानाजान शिक्षकलाई अन्याय गर्दै तलब रोकेको गुनासो आएको छ। अब भोलिसम्म तलब निकासा नगरे कारबाही हुनेछ।”
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिँदै दसैं तिहार जस्तो अवसरमा शिक्षकलाई तलब रोक्नु अन्यायपूर्ण भएको बताएका छन्। मन्त्रालयबाट रकम पठाइसकिएको भए पनि समयमै वितरण नगर्ने पालिकाले कानूनी दायरामा कारबाही भोग्नुपर्ने चेतावनी उनले दोहोर्याएका छन्।
यससँगै, मन्त्री पुनले विद्यालय प्रमुखलाई लक्षित गरिएका आफ्ना अघिल्ला अभिव्यक्ति सच्याउँदै अब स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन्।
यो पनि पढ्नुहोस:
– तलब रोक्ने विद्यालयका प्रअलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी