मधेसमा चार दलीय सहमति, कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने तयारी

२०८२ आश्विन ११, शनिबार १६:३६

सर्लाही – मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी तीव्र बनेको छ। मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा पुगेसँगै नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरणमा सहमति जुटेको छ।

जनमत पार्टीका नेता महेश यादवका अनुसार लामो छलफलपछि कांग्रेसलाई मुख्यमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको हो। उनका शब्दमा, “चार दलीय सहमति अन्ततः कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगेको छ।”

यसअघि, जनमतले आफ्नै पार्टीका मुख्यमन्त्री सतिस सिंहलाई समर्थन फिर्ता बोलाएपछि कांग्रेसले पनि गत बुधबार सरकार छाडेको थियो। त्यसपछि सिंहको नेतृत्वको सरकार अल्पमतमा धकेलिएको थियो।

अब नयाँ समीकरणअनुसार प्रदेश सभामा कांग्रेसका २२, एमालेका २४ (सभामुखसहित, एक सांसद निलम्बित), जनमतका १३ र लोसपाका ८ (एक निलम्बित) सांसद रहेका छन्। यी संख्याले मिलेर सहजै बहुमत पुर्याउने भएकाले सरकार गठनमा ठोस सम्भावना देखिएको छ।

प्रदेश प्रमुख काठमाडौंमा रहेका कारण औपचारिक प्रक्रिया केही ढिलाइ भए पनि, आजै वा भोलिसम्म बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गर्ने तयारी चार दलले गरेका छन्।

तर मन्त्रालय बाँडफाँडबारे भने अझै सहमति भइसकेको छैन। स्रोतका अनुसार मन्त्रालयको भागबण्डा टुंगो लागेपछि मात्र कांग्रेस नेतृत्वमा सरकार निर्माणको प्रक्रिया अन्तिम चरणमा पुग्नेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार