मधेसमा आज ‘बेलनौत’ गरिँदै

२०८२ आश्विन १२, आईतवार ०९:२२

सर्लाही – मधेसका मिथिला बस्तीहरूमा आज दशहरा पर्वअन्तर्गतको विशेष विधि ‘बेलनौत’ आयोजना हुँदैछ । शारदीय नवरात्र र दशहरा पर्वको षष्ठी तिथिमा गरिने यो परम्परा मैथिल समुदायबीच महत्वपूर्ण धार्मिक अभ्यासका रूपमा मानिन्छ । यसपालि चतुर्थी तिथि दुई दिन परेको कारण नवरात्र १० दिन लामो बनेको छ । यही कारणले सामान्यतया षष्ठी तिथिमा पर्ने ‘बेलनौत’ यस वर्ष सातौँ दिनमा सारिएको हो ।

मिथिला परम्परा अनुसार षष्ठीका दिन देवी प्रतिमाको आँखा खोल्न (उघार्न) आवश्यक बेल फल निम्ता गर्ने विधि ‘बेलनौत’ भनिन्छ । यसअन्तर्गत माटोले बनाइएका दुर्गा प्रतिमास्थलबाट बाजागाजासहित बस्ती नजिकको बेल रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँधिन्छ । ‘नौत’ शब्दकै अर्थ निमन्त्रणा भएकाले यो विधिलाई देवीलाई निम्ता गर्ने धार्मिक अनुष्ठानका रूपमा बुझिन्छ ।

विधि अनुसार, षष्ठीका दिन निम्त्याइएको बेलको फल सप्तमी बिहान बाजागाजासहित टिपेर ल्याइन्छ । त्यसपछि पुरोहितले भेट्नो प्रयोग गरी दुर्गा प्रतिमाको आँखा खोलेपछि मात्र देवी सर्वसाधारणको दर्शनका लागि खुला हुन्छिन् । यस प्रक्रियालाई ‘बेलतोडी’ पनि भनिन्छ ।

मिथिला क्षेत्रका प्रायः बस्तीहरूमा दशहरा अवसरमा देवी प्रतिमा स्थापना गर्ने चलन छ । आँखा उघार्ने बेलनौत सम्पन्न भएसँगै बस्तीमा पर्वको चहलपहल अझै बढ्ने गरेको छ । धातु वा काठका स्थायी प्रतिमामा आँखा उघार्ने विधि नभए पनि, निम्ता गरिएको बेल फल मन्दिरमा राख्ने परम्परा भने रहिआएको छ ।

यसैगरी, पर्व समाप्त भएपछि विजयादशमीका दिन देवी प्रतिमाहरूलाई धार्मिक महत्व भएका नदी वा तलाउमा विसर्जन गर्ने प्रथा मिथिला समाजमा जीवितै छ, जसलाई ‘मूर्ति भसाउने’ भनिन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार