जनमत पार्टीमा ठूलो धक्का: सुनसरीमा ८१ नेता कार्यकर्ताको सामूहिक राजीनामा

२०८२ आश्विन १२, आईतवार १८:५४

सर्लाही – जनमत पार्टी आन्तरिक विवादका कारण फेरि संकटमा परेको छ । सुनसरीका जिल्लामा पार्टीका पूर्वजिल्ला इन्चार्ज रमानन्द मेहताको नेतृत्वमा ८१ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिएका नेताहरूले पार्टीभित्र वैचारिक विचलन, अवसरवाद र आन्तरिक लोकतन्त्रको अभावलाई मुख्य कारण देखाएका छन् । मेहताले जनमत पार्टी डा. सीके राउतको नेतृत्वमा स्थापनाकालदेखि नै मधेशको विचार, मुक्ति र संघर्षको मुद्दामा उभिएको भए पनि अहिले पार्टी मार्गभ्रष्ट भएको आरोप लगाए ।

“हामीलाई डा. राउतबाट यति ठूलो घात हुन्छ भन्ने कुरा कहिल्यै सोचेका थिएनौं,” मेहताले भने, “उनीहरूले पार्टीलाई निजीकरण गर्दै मूल मुद्दा र एजेण्डा छाडिदिएका छन्, त्यसैले अब बसिरहन सक्ने अवस्था छैन।” उनले पछिल्लो समय पुराना नेताहरूलाई अपमानपूर्वक हटाउने, भ्रष्ट र अवसरवादीलाई भित्र्याउने प्रवृत्ति हावी भएको आरोप पनि लगाए ।

“आन्तरिक लोकतन्त्र र फरक मतको कदर हुनुपर्ने ठाउँमा उल्टै त्यसको हत्या भइरहेको छ,” मेहताले गुनासो गर्दै भने, “नेतृत्व परिवारवाद, नातावाद, कृपावाद र निरंकुशता तर्फ उन्मुख छ, जसले गर्दा हामीसँग पार्टी छोड्नु बाहेक विकल्प छैन।” यससँगै सुनसरीमा जनमत पार्टीको संरचना र संगठन कमजोर हुने निश्चित देखिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार