दशैं नजिकिँदा पनि तलव नपाएको भन्दै शिक्षा मन्त्रिलाई अत्याधिक गुनासो मधेसबाट

२०८२ आश्विन १३, सोमबार ०९:२७

सर्लाही – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मधेसका विभिन्न पालिकाबाट तलब नपाएको गुनासो अत्याधिक आएको बताएका छन्।

उनका अनुसार दशैं, तिहार र छठजस्ता ठूला पर्व आउँदै गर्दा पनि पालिकाले ढिलासुस्ती र बहाना देखाउँदै तलब नदिएको भन्दै ५०० भन्दा बढी शिक्षक र कर्मचारीले फोन तथा इमेलमार्फत् गुनासो गरेका छन्।

“तलब पाइएन भनेर सबैभन्दा धेरै फोन मधेसबाट आएको छ,” मन्त्री पुनले लेखेका छन्। “शिक्षा मन्त्रालयले पालिकालाई पैसा पठाइसकेको रहेछ, तर स्थानीय तहले ढिलाइ गर्दै तलब नदिएको जानकारी आएको छ।”

उनले यस्तो बेथिति कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै चाँडै समाधानका उपाय खोजिने बताएका छन्। मन्त्री पुनले शिक्षक, कर्मचारीलाई चाडपर्वमा पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दै सम्बन्धित पालिकाले तलब वितरणमा तत्काल जिम्मेवारी बहन गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन् – ‘तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेश बाट आएको छ । बर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो।

शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार