सर्लाही – नेकपा (एकीकृत समाजवादी) ले पार्टीको नेतृत्व अब क्रमशः नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै सार्वजनिक गरेको अपानीमा कम्युनिष्ट आन्दोलनमा देखिएका कमीकमजोरी सच्याउने, कार्यशैली सुधार गर्ने र आन्तरिक लोकतन्त्रलाई सबल बनाउने विषयलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिएको छ।

अपानीमा जनवादी केन्द्रियतालाई संगठनात्मक आधार मानिने, समाजवादलाई रणनीतिक लक्ष्यका रूपमा तय गरिने र नेपाली विशेषतासहितको समाजवादी कार्यदिशा अंगिकार गरिने उल्लेख छ। यसैगरी समान विचारधारा भएका दल र समूहसँग एकता गर्ने क्रममा पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद–लेनिनवाद हुने स्पष्ट गरिएको छ।
नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्न, नव–उपनिवेशवादको विरोध गर्न तथा वामपन्थी र समाजवादी शक्तिहरूबीच एकता बढाउन पार्टी सक्रिय रहेको जनाएको छ।
यसअन्तर्गत एकीकृत समाजवादीले हालै अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेकपासँग एकताका लागि प्रारम्भिक छलफल थालेको जानकारी दिएको छ।





