सर्लाही – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा जेन–जी पुस्ता वा आन्दोलनका शहीद परिवारको प्रतिनिधित्व नहुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
रौतहटको फतुवाबिजयपुर नगरपालिका–२ सितलपुरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले सरकार जेन–जी आन्दोलनकै बलमा बनेको भए पनि त्यस आन्दोलनका नायकहरूको उपस्थितिलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाए। “यो सरकार जेन–जी आन्दोलनकै योगदानले बनेको हो। तर, त्यही पुस्ता वा शहिद परिवारलाई सरकारमा स्थान नदिनु दुखद हो,” उनले भने।

त्यस अवसरमा साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई अब नेतृत्व हस्तान्तरण गरेर नयाँ पुस्तालाई अघि बढ्न दिने समय आएको बताए। “एमालेले ओलीलाई अनि कांग्रेसले देउवालाई देखाएर राजनीति लामो समय चलाउन खोज्नु मुलुकको हितमा छैन। अब यिनीहरूलाई स्थायी रूपमा बिदाई गर्नुको विकल्प छैन,” साहको भनाइ थियो।
उनले कांग्रेस एमालेको दुई तिहाई बहुमतको सरकारले मुलुकलाई जोगाउन असफल भएको दाबी गर्दै अहिले भइरहेको नेतृत्व पुस्तान्तरणको बहसलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे। अध्यक्ष साहले अहिलको संविधानले समाधान दिन नसक्ने दाबी गर्दै अन्तरिम सरकार र अन्तरिम संविधानमार्फत मात्र मुलुकले निकास पाउने स्पष्ट पारे।





