सर्लाही – महोत्तरीको औरही नगरपालिका – ७ मा रहेको ऐतिहासिक सोनामाई शक्तिपीठ अहिले भूत मेलाको रौनकले छाएको छ। दशैं सुरु भएसँगै मिथिला क्षेत्रमा विशेष प्रतीक्षा गरिने यो मेला षष्ठी तिथिदेखि सुरु भई विजयादशमीसम्म निरन्तर चल्ने परम्परा रहि आएको छ।
शताब्दीयौं देखि सोनामाई शक्तिपीठलाई भूत प्रेत, बोक्साबोक्सी र दुष्ट आत्मादेखि मुक्ति दिलाउने पवित्र स्थान मानिँदै आएको छ। पुजारी कामेश्वर झाले बताए अनुसार प्रत्येक वर्ष हजारौं दर्शनार्थी यस मेलामा सहभागी भई आस्था र विश्वाससहित देवीको दर्शन गर्छन्। मेलामा भूत प्रेतले सताइएका पीडित महिला, पुरुषको भीड विशेष देखिन्छ।

सोनामाईको सीमामा प्रवेश गर्ने बित्तिकै पीडितहरु आफैंले कसरी र कुन आत्माले सताएको हो भन्ने प्रकट गर्न थाल्ने गरेको जनविश्वास छ। कोही लड्दै, कोही रुँदै, कोही हाँस्दै वा असामान्य क्रियाकलाप गर्दै देवी दरबार पुग्छन्। देवीको दृष्टि परेपछि उनीहरु स्वस्थ भई आफ्नो घर फर्किने विश्वास स्थानीय पुजारी रमेश झा र झगरु झाले बताए।
महोत्तरी मात्र नभई सर्लाही, धनुषा, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटनगर, काठमाडौंदेखि भारतका सीतामढी, मधुबनी र पटना सम्मका श्रद्धालु भक्तजन यस मेलामा आउने गर्छन गरेका छन्। धार्मिक आस्था र सामाजिक परम्पराले जोगाइराखेको यो भूत मेला अहिले पनि मिथिला क्षेत्रको आकर्षण बनेको छ।





