सर्लाही – बारामा कारको ठक्करबाट वृद्धाको मृत्यु भएको छ। जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – ३ बजनीमा मंगलबार कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा जितपुरसिमरा–७ निवासी ६५ वर्षीया प्यारी साह रहेकी छन्। उनलाई बा.प्र.०१–०२५ च ६०७४ नम्बरको कारले बजनीस्थित मालपोत चोकमा ठक्कर दिएको थियो।

ठक्करपछि गम्भीर घाइते भइ अचेत भएकी साहलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि फरार भएका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका – ८ कमानेका २९ वर्षीय नबि आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा संलग्न कारसमेत प्रहरीको नियन्त्रणमा रहेको छ, घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





