सर्लाहीमा माटोको ढिस्कोले पुरिँदा चार जना गम्भीर घाईते

२०८२ आश्विन १५, बुधबार १०:३१

मलंगवा – सर्लाहीमा माटोको ढिस्कोले पुरिँदा चार जना गम्भीर घाईते भएका छन्। जिल्लाको हरिपुर्वा नगरपालिका – १ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घाइते हुनेहरूमा महोत्तरीको सोनमा गाउँपालिका – ६ मगरथाना निवासी ६५ वर्षीया सायदा खातुन, शोही ठाउँ निवासी ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। सबैको अवस्था गम्भीर रहेको छ।

आज ( बुधबार ) बिहान करिब ९ बजेतिर खुर्पाले माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू माटोमा पुरी घाइते भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै हरिपुर्वा प्रहरी चौकीको टोली प्रहरी नायब निरीक्षकको कमाण्डमा घटनास्थल पुगेको थियो।

घाइतेलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। घटनास्थल सर्लाहीको हरिपुर्वा प्रहरी चौकीबाट करिब साँढे २ किलोमिटर पूर्व पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार