जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बस चुरियामाई मन्दिर नजिक दुर्घटना, दुई जनाको मृत्यु

२०८२ आश्विन १५, बुधबार १३:२४
सांकेतिक तस्बिर

सर्लाही – बाराको जितपुर – सिमरा उपमहानगरपालिका – २२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान बसको ब्रेक फेल भएर दुर्घटना भएको छ।

प्रहरीका अनुसार बसले पछाडि फर्किँदै मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाइकलका सवार चेपिएका थिए। जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा – पथलैया सडकखण्डको उकालोमा पुग्दा ब्रेक फेल भएको थियो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा फेटा गाउँपालिका–१ का २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज–३ का २६ वर्षीया कवितादेवी रहेका छन्। उनीहरूलाई उपचारका लागि कलैया प्रादेशिक अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मकेश्वर पटेलकी २२ वर्षीया पत्नी कलिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकल चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल घाईते भएका छन्। उनीहरूको उपचार मकवानपुरस्थित सहकारी अस्पतालमा भइरहेको छ।

प्रहरीले बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न बस र मोटरसाइकल हाल घटनास्थलमै रहेका छन्। बसको पछाडि रहेको मप्र ०३–००१ ज ०६६२ नम्बरको ईभी माइक्रो गाडीको अगाडिको भागमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध भएको सडकलाई हाल एकतर्फी सञ्चालनमा ल्याइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार