
सर्लाही – मलेसियाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली तय गरिएको हो।
घोषित टोलीमा पूजा महतो उपकप्तानका रूपमा रहनेछिन्। त्यस्तै, रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर पनि समावेश भएका छन्। नेपाल र मलेसियाबीचको पहिलो टी–२० खेल भोलि (बिहीबार) हुनेछ।

सिरिज असोज २१ (अक्टोबर ८) सम्म जारी रहने छ। महिला क्रिकेटमा नेपाल र मलेसिया दुवैलाई समान स्तरका प्रतिद्वन्द्वीका रूपमा लिइँदै आएको छ। यसपटकको सिरिज दुवै टोलीका लागि आगामी ठूला प्रतियोगिताको अभ्यास तथा तयारीका अवसरका रूपमा हेरिएको छ।