आज बडादशैं, देशभर टीका र आशिर्वाद ग्रहण गरी मनाइदैं

२०८२ आश्विन १६, बिहीबार ०६:०६

सर्लाही – नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । मान्यजनको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । समितिका अनुसार टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने परम्परा छ । घटस्थापनादेखि राखिएको कलश र जमरालाई वैदिक विधिपूर्वक पूजा आजासहित अभिषेक गरी आज टीका लगाइने चलन रहेको छ ।

यस दिन गुरु पुरोहित, हजुरबुबा–हजुरआमा, बा–आमा र मान्यजनका हातबाट देवी भवानीको प्रसादका रूपमा टीका, जमरा र मिठाइ ग्रहण गर्दै यश, आयु, ऐश्वर्य र कार्यक्षमतामा वृद्धि होस् भन्ने कामनासहित आशीर्वाद लिने गरिन्छ । आज कुनै कारणवश टीका ग्रहण गर्न नसक्नेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न सक्ने व्यवस्था छ ।

यस अघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको समितिका सदस्य डा. बासुदेव कोइराला (वासुदेवकृष्ण शास्त्री)ले जानकारी दिए । उनका अनुसार विजयादशमी आफैंमा नै शुभ दिन भएकाले सर्वसाधारणले प्रसाद ग्रहण गर्न साइत कुरिरहन आवश्यक छैन । तर राज्य सञ्चालकले भने परम्परागत रूपमा तोकिएको उत्तम साइतमै टीका ग्रहण गर्ने चलन रहिआएको छ ।

समितिका अर्का सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्ने धार्मिक नियम छ । तर, टाढा यात्रा वा अन्य बाध्यताका कारण समय नमिल्नेहरूले बिहान सबेरै घाम उदाउँदा नै विसर्जन गरी टीका लगाउन सक्ने प्रचलन रहेको उनले बताए ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रतसहित पूजा गरी दशैं पर्व समापन गरिन्छ । नेपालभरको जस्तै विदेशमा रहेका नेपालीहरूले पनि परिवार, साथीभाइसँगै जमघट भई विजयादशमीलाई श्रद्धा र उल्लासपूर्वक मनाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार