सर्लाही – बाराको सुवर्ण गाउँपालिका – ८ मझरियामा स्थानीय एक महिलामाथि बोक्सीको आरोप लगाएर गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएको छ ।
असोज ११ गते ३३ वर्षीया महिलालाई गाउँकै केही व्यक्तिहरूले सडकमा रोकेर कुटपिट मात्र गरेनन्, उनको लुगा च्यातेर अर्धनग्न बनाए र कपाल समेत काटेर अपमानित गरेका थिए ।

पीडितले जिल्ला प्रहरी कार्यालय बारामा दिएको जाहेरीमा यो विवरण उल्लेख छ । जाहेरी अनुसार गाउँका बाबुसाहेब यादव, लालदेव पण्डित, विक्रम पण्डित र सुरेश यादवले महिलामाथि बोक्सी भएको भन्दै सामूहिक रूपमा आक्रमण गरेका हुन् ।
परिवारका सदस्यले दिएको विवरणअनुसार, पीडितको निजी जग्गामा विक्रम पण्डित र लालदेव पण्डितले जबरजस्ती बाटो निर्माण गरेका थिए । त्यसविरुद्ध उनले प्रहरीमा उजुरी गर्न जाँदै गर्दा बाटैमा आरोप लगाउँदै निर्घात कुटपिट गरिएको हो ।
घटनापछि महिलालाई कलैयास्थित अस्पताल पुर्याइएको थियो भने थप उपचारका लागि हाल वीरगञ्जमा भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीसमक्ष दिएको बयानमा उनले भनिन्, “माथि लागेको आरोप निराधार हो । मलाई पशुजस्तै व्यवहार गरियो । जबसम्म दोषीलाई कडा कारबाही हुँदैन, न्याय पाउँदिनँ।”
घटनाबेला उनका श्रीमान् रोजगारीको सिलसिलामा काठमाडौँमा थिए । छोरीमार्फत जानकारी पाएपछि तत्काल घर फर्किएका उनले पत्नीमाथि भएको व्यवहारप्रति आक्रोश व्यक्त गरे । प्रहरीले आरोपितमध्ये ५३ वर्षीय लालदेव पण्डितलाई पक्राउ गरेको छ भने बाबुसाहेब यादव, विक्रम पण्डित र सुरेश यादव फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिलीप थापाका अनुसार बाँकी अभियुक्तको खोजी तीव्र पारिएको छ । चारै जनाविरुद्ध अपमानजनक व्यवहार तथा बोक्सीसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।
यो घटनाले अझै पनि ग्रामीण समाजमा अन्धविश्वास र महिलामाथिको हिंसाको गहिरो समस्या रहेको स्पष्ट पारेको छ । पीडित परिवारले दोषीलाई कडाभन्दा कडा सजाय दिन माग गरेका छन् भने मानव अधिकारकर्मीहरूले पनि यस्ता घटनाले कानुनी सचेतना र सामाजिक जागरणको आवश्यकता झनै बढाएको टिप्पणी गरेका छन् ।





